तस्करीमा एम्बुलेन्सको प्रयोग

विभिन्न सामाजिक संस्थाबाट महोतरी जिल्लामा सञ्चालित एम्बुलेन्सको दुरुपयोग बढदै गएकोमा सरोकारवाला र सेवाग्राहीले चिन्ता व्यक्त गरेका छन । जिल्लामा सञ्चालित एम्बुलेन्सलाई निर्वाध रुपमा आवगमन गर्न दिने गरिएका कारण महोतरीको सिमावर्ती क्षेत्रमा एम्बुलेन्सबाट तस्करी हुने गरेको खुलासा भएपछि सरोकारवाला र सेवाग्राहीले चिन्ता व्यक्त गरेका छन । जिल्ला प्रहरी कार्यालयबाट खटिगएको प्रहरी गस्ती टोलीले मसाला कुटने समान गेम खेल्ने मेसिन तथा विभिन्न भारतीय खेलौनाका समान ओसारपसारको आरोपमा बा ७ च २३९० नम्बरको धनुषा अस्पतालको एम्बुलेन्ससहित चालक धनषाको जनकनन्दनी गाँउपालिका ५ का अरुण कुमार कापरलाई महोतरीको मटिहानी ८बाट नियन्त्रणमा लिएपछि सुरक्षा जाँचमा एम्बुलेन्सलाई पनि छाडन नहुने स्थिती देखिएको हो ।
भारतको मधवापुरबाट अवैध तरिकाले भरियामार्फत भन्सार छली ल्याइएको ७० हजारको समानलाई सीमास्थित मटिहानीबाट एम्बुलेन्सले बोकेर जनकपुर लैजाने क्रममा गस्ती टोलीले सो एम्बुलेन्सलाई नियन्त्रणमा लिएको थियो।प्रहरीले एम्बुलेन्स, चालक, र समान जलेश्वर भन्सार कार्यालयमा बुझाएको छ। बिरामी बोकेर भारतका विभिन्न शहरमा पुग्ने एम्बुलेन्सले फर्किंदा तस्करीका सामान बोकेर आउने गरेको पाइन्छ।
जिल्लामा सञ्चालित एम्बुलेन्स ग्रामीणमुखी हुन नसकेको, तस्करीमा प्रयोग हुने गरेको जथाभावि शुल्क लिने गरेको, रातिको समयमा सेवा दिन आनाकानी गर्ने गरेको, एम्बुलेन्समा यात्रु राखिने गरेको लगायतका गुनासो सेवाग्राहीको छ ।
एम्बुलेन्सको व्यापक दुरुपयोग बढेको त्यसको सुधारका लागि सरकारले विद्यमान नीतिगत व्यवस्थामा सुधार गर्नुपर्ने र एम्बुलेन्स सञ्चालकमा पनि व्यावसायिक इमान्दारिता हुनुपर्ने उनीहरुले बताए । एम्बुलेन्स सेवालाई व्यवस्थित रुपमा निर्देशिका अनुरुप सञ्चालन गराउने जिम्मा लिएको जिल्ला एम्बुलेन्स सेवा समितिको भूमिका पनि अपेक्षाकृत हुन नसकेकाले पनि दुरुपयोग बढ्नुको प्रमुख कारण रहेको छ ।
प्रमुख जिल्ला अधिकारी अध्यक्ष, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधि सदस्य सचिव र जिल्ला रेडक्रस, जिल्ला प्रहरी कार्यालय र जिल्ला अस्पतालका प्रतिनिधि सदस्य रहेको सो समितिले एम्बुलेन्स सेवा प्रदायकसँग बेलाबेला अन्तर –संवाद तथा छलफल गर्नुबाहेक दुरुपयोग नियन्त्रणका लागि ठोस काम भने गर्न सकेको छैन ।