ट्राफिक प्रहरी कुट्ने १६ अभियुक्तमध्ये २ जनामा देखियो कोरोना

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा ललितपुरको पुल्चोकमा ट्राफिक प्रहरीलाई कुटेको अभियोगमा पक्राउ परेका १६ जनामध्ये दुई जनालाई कोरोना संक्रमण भएको पाइएको छ।पक्राउ परेका सोह्रै जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गराएकामा दुई जनामा कोरोना भाइरस रहेको पुष्टि भएको ललितपुर महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ।

परिसरका प्रमुख, एसपी टेकबहादुर राईका अनुसार अहिले पक्राउ परेका मानिसलाई पहिलेदेखि नै क्वारेन्टिनमा अलग अलग राखिन्छ र स्वाब संकलन गरी पीसीआर परीक्षण गराइन्छ। त्यसको रिपोर्ट आएपछि मात्र उनीहरूलाई म्याद थपका लागि अदालत लगिन्छ। यसै क्रममा दुई अभियुक्तमा कोरोना पुष्टि भएको परिसर स्रोतले जनाएको छ।

‘तर यसबारे हामीलाई औपचारिक रूपमा रिपोर्ट आइसकेको छैन,’ एसपी राईले बताए।गत बिहीबार पुल्चोकमा रातो मत्स्येन्द्र नाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको थियो। त्यस क्रममा ट्राफिक प्रहरी जवान कमल घिमिरेलाई निर्घात कुटपिट गरिएको थियो।

घटनामा संलग्न १६ जनालाई अहिले परिसरको हिरासतमा राखेर घटनबारे अनुसन्धान भइरहेको एसपी राईले जानकारी दिए। झडपमा खटिएका १८ प्रहरीलाई समेत यसअघि नै कोरोना संक्रमण पुष्टि भइसकेको छ। झडपपछि स्थानीय प्रशासन र स्थानीयबीच छलफल गरी भएको सहमति अनुसार भौतिक दूरी र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर आइतबार रथ तान्ने कार्यक्रम सम्पन्न गरिएको छ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *