टोखा-छहरे सुरुङमार्ग ३५ अर्ब खर्चेर चीनले बनाइदिने, सि को नेपाल भ्रमणमा सम्झौता हुने

काठमाडौं । नुवाकोटलाई काठमाडौंसँग सुरुङमार्गबाट जोडिने भएको छ । ४.१७ किलोमिटरको यो सुरुङमार्ग चीनले अनुदानमा निर्माण गरिदिन लागेको नेपाललाईभले लेखेकाे छ । चीनको केरुङबाट काठमाडौं जोड्ने सहज सडक आयोजनाका रुपमा यसलाई अघि बढाउन लागिएको र यो आयोजना अनुदानमा निर्माण गरिदिन चीन सहमत भएको अर्थ मन्त्रालयसम्बद्ध स्रोतले जानकारी दिएको छ। ‘हामीले अनुदानमा निर्माणको प्रस्ताव गरेका थियौँ, चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको बेला निर्माण सम्झौता हुँदैछ,’ अर्थ मन्त्रालय स्रोतले जानकारी दियो।सरकारले चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका बेला १० वटा आयोजना ‘गिफ्ट’का रुपमा माग गर्ने तयारी गरेको छ। त्यसमध्ये यो आयोजना अनुदानमा निर्माणको सम्झौता गर्नेगरी अन्तिम गृहकार्य भइरहेको छ। ‘सम्झौताको अन्तिम गृहकार्य चलिरहेको छ,’ स्रोतले भन्यो।काठमाडौंको सामाखुसिदेखि नुवाकोटको छहरेसम्मको बाटो स्तरोन्नतिका लागि सरकारले केही समयअघिदेखि प्राथमिकता पनि दिँदै आएको छ। काठमाडौंबाट चीनको नाका केरुङ जोड्ने सबैभन्दा छोटो रुटका रुपमा हेरिएको सुरुङमार्ग निर्माणलाई पनि सरकारले प्राथमिकताको माथिल्लो सूचीमै राखेको छ। यो आयोजना निर्माण सम्पन्न गर्न करिब ३५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।