जुम्लाको चन्दननाथ मन्दिरबाट चोरी भएको दाहिने शङ्ख भेटियो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

जुम्लामा रहेको चन्दननाथ मन्दिरमा चोरी भएका मूर्तिमध्ये दाहिने शङ्ख पनी भेटिएको छ । चन्दननाथ नगरपालिका १० बोहोरा गाउँको खोलापानेमा एक ओडारमुनि दाहिने शङ्ख भेटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्स्पेक्टर तथा सूचना अधिकारी देवराज भट्टराईका अनुसार अनुसन्धान गर्दै जाँदा पक्राउ परेका एक जना व्यक्तिको सहयोगमा शङ्ख लुकाएको ठाउँ पत्ता लगाएको हो । रातो प्लास्टिकभित्र सेतो प्लास्टिक र सेतो प्लास्टिकभित्र फाइबरको झोलामा बेरेर राखेको अवस्थामा दाहिने शङ्ख भेटिएको इन्स्पेक्टर भट्टराईले जानकारी दिए ।

यसअघि चन्दननाथ नगरपालिका १० का स्थानीय सुशील विष्टको खेतको आलीको सुकेको घाँसको थुप्रोमा दोसल्लामा बेरिएको अवस्थामा अन्य दुई मूर्ति भेटिएको थियो । प्रहरीले त्यो घटनामा विष्टसहित तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये एक जनाको सहयोग तथा बयानअनुसार दाहिने शङ्ख भेटिएको भट्टराईले जानकारी दिए।

यसअघि २०७३ साल मङ्सिर ११ गते पनि मूर्ति चोरी भएको थियो । केही मूर्ति त्यही समयमा पत्ता लागेका थिए । सबैभन्दा ठूलो १८ केजीको चाँदीको मूर्ति गएको माघ ६ गते चन्दननाथ नगरपालिका १ दानसाँघुको खेतको आलीमा भेटिएको थियो । मूर्ति चोरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *