जनै पूर्णिमा अर्थात ऋषी तर्पणीको यस्तो छ महत्व

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नयाँ जनै पहिरिएर र रक्षा बन्धन अर्थात् नाडीमा डोरो बाँधेर सोमबार जनै पूर्णिमा मनाइँदै छ । हरेक वर्षको श्रावण शुक्ल पूर्णीमाका दिन जनै पुर्णिमा मनाउने गरिन्छ ।

यो पर्वलाई रक्षा बन्धन वा ऋषी तर्पणी पनि भन्ने गरिन्छ । पुर्णिमाका दिनमा नयाँ जनै लगाउने तागाधारीहरुले विहानै उठी नुहाइ धुवाइ गरी वैदिक मन्त्र उच्चारण र सप्त ऋषिलाई तर्पण गरी जल चढाइ गराइएको जनैलाई धारण गर्ने परम्परा छ । जनै लगाउने तागाधारीहरुले गोवर, माटो, कुस लगाएर पवित्र जलासयमा गएर स्नान गरी दतिवन वा अपमार्गले दाँत माझ्ने र पन्चगब्य खाएर नयाँ जनै फेर्ने चलन रहेको संस्कृतिविदहरु बताउँछन् ।

पुर्णिमाका दिन कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र बसिष्ठ लगायतका सप्तऋषिलाई तर्पण दिने गरिएकाले यसलाई ऋषी तर्पणी पनि भन्ने गरिएको हो । पुर्णिमाका दिन पुरोहितहरूले जजमानहरूको हातमा पहेंलो धागोको रक्षाबन्धन बाँधिदिने चलन छ । यो धाँगो बाध्नाले शरिरको रक्षा हुने विश्वास रहि आएको छ । रक्षाबन्धन धागो महिलाहरुको बायाँ नाडीमा र पुरुषहरुले दायाँ नाडीमा बाँध्ने चलन छ । यो दिन बाँधिएको धागोलाई तिहारमा लक्ष्मीपूजाको दिनमा फुकालेर गाईको पुच्छरमा बाँधी विसर्जन गर्ने परम्परा छ । भविष्यपुराणका अनुसार महारानी शचीले वैदिक मन्त्रद्वारा अभिमन्त्रित एक सूत्र ­धागो आफ्ना पति देवराज इन्द्रको हातमा बाँधेर आफ्ना तमाम शत्रुदेखि श्रावणशुक्ल पूर्णिमाकै दिन अभयदान दिएकीले त्यसकै संझनामा रक्षाबन्धन बाँध्ने चलन चलेको धार्मिक विश्वास छ ।

पुरोहितद्वारा रक्षा बन्धन धागो बाँध्दा दैत्यराज बलिको दानशीलता र सत्यनिष्ठा स्मरण गराउने मन्त्र वाचन गर्ने परम्परा रहेको छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी डोरो बाँधेर जोगाएका थिए भत्रे पौराणिक कथनबाट रक्षा बन्धन चलेको धार्मीक विश्वास छ । यस पर्वमा गोसाइँकुण्ड, दूधकुण्ड, हलेसी, धनुषसागर, मणिचूडदह, पाटनको कुम्भेश्वर आदि धार्मिक स्थलमा मेला लाग्ने गर्छ ।

जनै पूर्णीमालाई नेवारी समुदायमा गुंपुन्हि वा क्वाँटी नखः पनि भन्ने गरिन्छ । त्यस्तै आजको दिनलाई क्वाँटी खाने दिन पनि भनिन्छ । दुइदिन अघिदेखि पानीमा भिजाई राखिएको बिभिन्न नौ प्रकारका गेंडागूडि मिसाएर तयार पारेर टुसा उमारेकोलाई क्वाँटी भनिन्छ । हरियो टुसा पलाएको गेंडागूडीलाई विशेषगरी झोल तरकारीको रूपमा पकाएर खाने गरिन्छ । क्वाँटीले शरीरमा शक्ति बढाई रोगसँग लड्ने क्षमता बढाउछ भन्ने विश्वास छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *