चितवनको भरतपुरमा कोरोना संक्रमितको निधन

कोरोना भाइरसको संक्रमण पुष्टि भएर चितवनको भरतपुर अस्पतालको आईसीयूमा उपचार गराइरहेका एकजना व्यक्तिको बिहीबार दिउँसो निधन भएको छ ।यो सहित चितवनमा कोरोना संक्रमित भएर निधन हुने व्यक्तिको संख्या अहिलेसम्म ४ पुगेको छ । तीनजना चितवनकै हुन् । एकजना कैलाली घर भएर उपचारका लागि भरतपुर आएका व्यक्तिको पनि संक्रमणका कारण ज्यान गएको थियो ।
भरतपुर अस्पतालले बिहीबार दिउँसो निकालेको सूचनामा रत्ननगर नगरपालिका–१३ घर भएका ६५ वर्षीय पुरुषको बुधबार दिउँसो तीन बजे मृत्यु भएको हो । उनी ६ दिनअघि कोरोनाबाट संक्रमित भइ अस्पतालको कोभिड आईसीयूमा उपचार गराइ रहेका थिए । उनी फोक्सोमा टिबी भएका दिर्घरोगी भएको अस्पतालले जनाएको छ ।
चितवनमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र बन्दै आएको छ । अहिलेसमम्म २८१ जनामा संक्रमण देखिएको छ । तीमध्ये हालसम्म ११३ जना मात्रै कोरोना मुक्त भएर घर फर्केका छन् । अस्पतालको शय्या भरिएका कारण संक्रमितहरुलाई ‘होम आइसोलेसन’मा राखेर उपचार गराउनु परेको छ । अस्पतालले दिएको जानकारी अनुसार ४४ जना होम आइसोलेसनमा रहेकाछन् ।