खुम्बु गाउँपालिकाले लगायो पर्यटक आवागमनमा अनिश्चितकालीन रोक लगायो
सगरमाथा क्षेत्र रहेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले पर्यटक आउन अनिश्चितकालीन रोक लगाएको छ । कोरोना सङ्क्रमणको जोखिमका कारण व्यवसायीले सेवा दिन नसक्ने बताएपछि गाउँपालिकाले पर्यटक आउन पूर्णरुपमा रोक लगाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले जानकारी दिएकाछन्।
आन्तरिक हवाई उडान सुरु भएसँगै खुम्बुमा आन्तरिक पर्यटकको सङ्ख्या बढिरहेको बेला गाउँपालिकामा एक जनालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि पर्यटकलाई नै रोक लगाएको उहाँले बताए ।
यसअघि पनि गाउँपालिकाले लुक्ला विमानस्थलमा ओर्लने सबैलाई ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ भएको रिपोर्ट अनिवार्य गरेको थियो । तर एक जनामा सङ्क्रमण देखिएपछि आवागमन नै बन्द गरेको भट्टराईले बताए ।
गाउँपालिकाले खुम्बुमा हेलिकप्टर तथा जहाजको सेवा दिने सबै एअरलाइन्सलाई पत्र पठाएर यात्रु नल्याउन भनेको छ । विभिन्न एअरलाइन्सले ल्याएका आकर्षक प्याकेजका कारण खुम्बु घुम्न जाने नेपालीको सङ्ख्या बढिरहेको थियो ।