कोरोना संक्रमितको मृत्युपछि अंग निकालिन्छ भन्दै अफवाह फैलाउने सुवास लिम्बू पक्राउ

कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट मृत्यु भएका व्यक्तिको विभिन्न अंग निकाल्ने गरेको भन्दै अफवाह फैलाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार पक्राउ पर्नेमा सुवास लिम्बू छन्। उनलाई ललितपुरको ढोलाहिटीबाट पक्राउ गरिएको हो।
पक्राउ परेका लिम्बूले भारतबाट वनस्पति विज्ञानको अध्ययन गरेको पाइएको छ। उनी आफूलाई प्राकृतिक चिकित्सकसमेत भएको दावी गर्छन्। भारतमा पढेर नेपाल आएपछि उनले वनस्पतिसम्बन्धी काम गरेको बताउँछन्। उनी पक्राउ परेसँगै केही व्यक्तिहरु ठगिएको भन्दै प्रहरी कार्यालयमा पुगेपछि लिम्बूले कोरोनालाई कमाई खाने माध्यम बनाएको पाइएको एसएसपी थापाले बताए।
उनले ढोलाहिटीमा आयुर्वेद क्लिनिक सञ्चालन गरेका छन्। उक्त क्लिनिकले आयुर्वेदको माध्यमबाट कोरोना ठिक पार्ने भन्दै भ्रम सिर्जना गरेर विभिन्न औषधी बेच्ने गरेको पाइएको एसएसपी थापाले बताए। यतिमात्रै होइन लिम्बूले एड्स र क्यान्सरको समेत आयुर्वेद औषधि आफूसँग रहेको भन्दै बेच्ने तथा युट्युबहरुमा अन्तर्वार्ता दिने गरेका थिए। ठगिएको भन्दै केही व्यक्तिहरु बिलसहित प्रहरी कार्यालयमा पुगेका छन्।
लिम्बूले भ्रम सिर्जनका गरेको भन्दै आयुवेर्दिक चिकित्सक संघले उनी विरुद्ध समेत उजुरी दिएको छ। उनीविरुद्ध अफवाह फैलाएको कसुरमा कारबाही गरिने महाशाखाले जनाएको छ।