कोदो प्रर्बद्धन गर्दै इस्मा गाउँपालिका

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कुनै समयमा कोदोको रोटी र ढिंडो खानेहरुलाई गाउँमा गरीवहरुले खाने अन्नको रुपमा लिईन्थ्यो । कोदो खानेहरुलाई निम्न परिवारका रुपमा हेर्ने प्रचलन समेत थियो । तर त्यही कोदो खानेहरु गरीव र भात खानेहरु धनि हुन भनेर पनि परिभाषित गर्ने चलन त्यतिवेला विद्यमान थियो ।तर आजभोली त्यही कोदो खानेहरुले भात खान थाले भने भात खानेहरु कोदो खान थालेका छन् । समय बदलिएसँगै विस्तारै विस्तारैं मानिसहरुले कोदोको वास्तविक महत्व बुभ्mदै जान थाले जसका कारण गाउँको कोदो शहरको भान्सासम्म मिठो परिकारको रुपमा स्थापित हुन थालेको छ । अहिले धनीहरुले आटो पीठो र ढिडो खान थाले भने गरीवहरुले भात ।

अझै पनि गाउँमा कोदोलाई हेला र दुखको खेतीको रुपमा मानिएको छ । गाउँमा हजारौं क्षेत्रफल खेतीयोग्य जमीनहरु बाँझिएका छन् । गाउँमा आजभोली कोदो खेति गर्न धेरैले छाडि सकेका छन् । सोहि अवस्थाको अन्त्यको लागि गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले कोदोको प्रर्वद्धन गर्दै रैथाने वालीको रुपमा यसलाई संरक्षण गर्न थालेको छ ।

कोदो खेतिमा कृषकलाई थप उत्प्रेरित गर्न अहिले ईस्मा गाउँपालिकाले कृषकहरुको घरमै पुगेर कोदो संकलन गर्ने र स्थानीय सहकारी मार्फत बजारीकरण गर्ने काम गरिरहेको छ । गाउँपालिकाले कोदोको मुल्य प्रति किलो ५० रुपैयाँ निर्धारण गरेको छ । सहकारीले प्रति किलो एक रुपैयाँ गाउँपालिकाको तर्फबाट ढुवानी अनुदान पाउने व्यवस्था मिलाइएको छ । विगतमा गाउँमा बिचौलियाले आफुखुसि मुल्यमा कोदो खरिद गर्दै आएकोमा पालिकाको यो अभियानले गाउँमा कोदो बिचौलियाहरुको समेत अन्त्य भएको बताईएको छ । शुरुशुरुमा कोदोको बजारीकरणमा समस्या देखिएको भएपनि विस्तारै यसले बजार पाउने अपेक्षा गाउँपालिकाले गरेको छ ।

गाउँपालिकाले इस्मा कृषि तथा पशु विकास महिला सहकारी संस्था र भविष्य निर्माण साना किसान सहकारी संस्था लिमिटेड मार्फत कोदो खरिद तथा बजारीकरणको काम गर्दै आएको छ । तर प्रचार प्रसारको अभाव भएर होला सहकारीले संकलन गरेको कोदो आवश्यक मात्रमा बाहिर निर्यात हुन नसकेका कारण यतिवेला सहकारीको गोदाममै थन्किएको छ ।

इस्मा गाउँपालिकाले अहिले इस्मा गाउँपालिका भित्रका कार्यक्रमहरुमा खाजाको रुपमा कोदोको परिकारलाई अगाडी बढाउने अभ्याससँगैे बिदाईमा पनि कोसेलीको रुपमा कोदोकै पिठो उपहार दिन शुरु गरेको छ । तर अहिले गाउँपालिकाले सहकारी मार्फत उचित मुल्यमा कोदो खरिद गर्न थालेपछि किसानहरु भने कोदो खेतितर्फ थप उत्साहित हुन थालेका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *