कैलालीमा १० दिनकालागी विषेधाज्ञा जारी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

कैलाली जिल्लामा बिहीबार राति १२ बजेदेखि कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले १० दिनका लागि अत्यावश्यक सेवा बाहेकका सबै किसिमका गतिविधि निषेध गरेको हो । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बिहिबार जारी गरेको आदेश अनुसार भदौ ४ गते राति १२ बजेदेखि १४ गतेराति १२ बजेसम्मका लागि विभिन्न गतिविधिहरु निषेध गरिएको छ ।

जिल्लामा समुदायस्तरमा समेत कोरोना संक्रमण फैलिने खतरा देखिएपछि जिल्ला सुरक्षा समितिको बैठकले बुधबार १० दिने निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । प्रमुख जिल्ला अधिकारीको आदेशमा जिल्लाभरि खाद्यान्न, तरकारी, दूध, फलफूल, माछा मासु लगायत अत्यावश्यक वस्तुका खरिद विक्रीका लागि प्रत्येक दिन बिहान ५ बजेदेखि ९ बजेसम्म चार घण्टाका लागि बजार खुला गरिने उल्लेख छ ।

औषधी, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पताल जाने–आउने विरामी, मृत्यु संस्कार बाहेकका लागि प्रयोग हुने सवारी साधन सञ्चालनमा निषेध गरिएको छ । मालबाहक, भन्सार जाँचपास गरी आएका, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने बाहेकका सवारी साधन जिल्ला प्रवेशमा रोक लगाइएको छ ।

अत्यावश्यक सेवामा खटिने राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीले परिचय खुल्ने गरी यातायातका साधन चलाउन पाउने छन् । नियमित परम्परागत रुपमा सञ्चालन हुने आन्तरिक पूजा गर्न पाइने जिल्ला प्रशासन कैलालीले जनाएको छ ।

सामूहिक रुपमा भेला गर्न, अनुमति विना जिल्ला भित्र र बाहिर सवारी चलाउन, कुनै पनि प्रकारका मेला, पर्व महोत्सव, जात्रा तथा सामूहिक भेला गर्न प्रशासनले निषेध गरेको छ ।

प्रशासनले अत्यावश्यक सेवा तथा वस्तु खरिद बाहेकमा घरबाहिर ननिस्किन समेत प्रशासनले जिल्लाबासीलाई आदेश दिएको छ । प्रशासनले फुटपाथमा ठेला लगाउन, साइकलमा हुने व्यापार, होटल रेष्टुरेन्ट सञ्चालन, कवाडी संकलनमा समेत रोक लगाएको छ ।

सरकारी कार्यालय र बैंकहरुलाई न्युनतम कर्मचारी राखेर मात्रै सञ्चालन गर्न प्रशासनले आदेश दिएको छ । बैंकिङ सेवा समेत सकेसम्म भर्चुअल बनाउन आदेश दिएको छ । आदेश उल्लंघन गर्ने र कृत्रिम अभाव सिर्जना गर्ने, मूल्य वृद्धि गर्ने, जम्माखोरी गर्ने, लुकाउने, सहज आपूर्तिमा अवरोध गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने प्रशासनले आदेशमा जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *