के चीनले नेपाली भूभाग अतिक्रमण गरेकै हो त ? यस्तो छ वास्तवीकता

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

११ नम्बर पिल्लरसँगै अन्योल बन्यो नेपाली भूभाग
उत्तरको छिमेकी मुलुक चीनसँगको सिमाना छुट्याउन नेपाल सरकारले २०१९ मा राखेको ११ नम्बरको सिमा स्थम्भ नभेटिएपछि नाम्खा गाउँपालिका–६ लाप्चाको भूमी लोलुङजोङ नेपाल र चीन मध्ये कस्को हो भन्ने थप अन्योल बढेको छ । पछिल्लो समय नेपाली भूमीमा चीनले मनलाग्दी आफ्ना भवन निर्माण गरेको खबर सार्वजनिक भए लगत्तै स्थलगत अवस्था बुझ्न लोलुङजोङ पुगेको हुम्लाका सुरक्षा अधिकारीहरुको टोलीले ११ नम्बर सिमा स्थम्भ नभेट्दा चीनिया दावी अघि मुख खोल्न नसकेरै फर्किए पछि नेपाल र चीन बीचको सिमाना विवाद थप अन्योल बनेको हो । “सामान्य ढंगले १२ नम्बरको पिल्लरका आधारमा हामीले हेर्दा चीनले भवन बनाएको क्षेत्र नाम्खा गाउँपालिकाको भू–भागमै पर्ने देखिन्छ,” जिल्लाका सुरक्षा अधिकारीहरुको टोलीमा सहभागी नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले भने, “सिमानाको विषयमा अध्ययन गर्न गएको सुरक्षा अधिकारीको टोलीसँग चीनियाँ पक्षको कडा दावी प्रतिकार गर्ने तत्थ्यगत आधार नभएपछि समस्या थप अन्योल बनेको हो ।” नेपाली टोली भवन निर्माण गरेको स्थानमा पुग्दा चिनियाँ सुरक्षाकर्मी भवनमै बसिरहेको उल्लेख गरेका अध्यक्ष तामाङले उनिहरुले नेपाली टोली आएको भन्दै चिनियाँ सेनालाई बोलाएको जानकारी दिए । उनका अनुसार नेपाली टोली पुग्ने बित्तिकै भवनहरू बनाएको स्थानबाट थप साढे दुई किलोमिटर नेपालतर्फको भू–भाग समेत आफ्नो हो भन्दै चीनियाँ पक्षले दावी गर्यो । तर त्यसको प्रतिकार गर्ने प्रमाण नेपाली टोलीसँग नभएपछि भूमि विवाद यथावतमै रहेको छ । “दुइ देश बीचको सिमाना छुट्याउन नोपलीतर्फबाट राखिएको ११ नम्बरको पिल्लर नभेटिएपछि हामी (नेपाली टोली) लाई एकिन गर्न गाह्रो भयो, अध्यक्ष लामाले थपे, “लाप्चा लेकमा रहेको १२ नम्बरको पिलरलाई आधार मान्ने हो भने चीनले भवन निर्माण गरेको लोलुङजोङ क्षेत्र हाम्रै भूमिमा पर्ने देखिन्छ ।” विभिन्न सञ्चार माध्यममा खबर सार्वजनिक भएपछि जिल्लाका सबै सुरक्षा निकायका अधिकारीसहित हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वको जम्बो टोली उक्त क्षेत्रको स्थलगत अध्ययनका लागि गएको थियो । स्थलगत अध्ययन गर्न उक्त टोली हुम्ला सदरमुकाम सिमकोटबाट चिनियाँ पक्षले भवन बनाएको भनिएको लोलुङजोङमा आइतवार पुगेको हो ।

 

शब्द नखर्चिएरै फक्र्यो सुरक्षा अधिकारीको टोलीले ?

दुई देशबीचको सिमानाका बारेमा स्थलगत वार्ताका लागि गएको नेपाली सुरक्षा अधिकारीको टोलीले चीनीया पक्षसँग एक शब्द नखर्चिएरै फिर्ता भएको छ । नेपाली भू–भागमा चीनीया पक्षले भवन लगाएको खबर पाउने बित्तिकै स्थलगत अवलोकनका लागि लाप्चा पुगेको ३० सदस्यीय टोलीले चीनियाँ अधिकारीसँग लाप्चामा केही कुरा राखेन । स्थलगत अवलोकनमा गएको सुरक्षा अधिकारीसँग गएको स्रोतले भन्यो, “भवन निर्माण गरेको स्थानबाट हामीलाई चीनिया पक्षले हटाउने बित्तकै प्रमुख जिल्ला अधिकारी लगायतका जिल्लाका सुरक्षा प्रमुखको बोली बन्द भैसकेको थियो ।” निकै बेजोडले लागेको हावाले पनि दुई पक्ष बीच कुराकानी गर्नमा बाधा उत्पन्न भएको उल्लेख गरेको उक्त स्रोत भन्छ, “हावा र हुरीकै बीचमा उनीहरुले एकोहोरो बोले तर नेपाली सुरक्षा टोलीकातर्फबाट कुनै प्रतिक्रिया जनाउने काम भएन् ।” हुम्ला सदरमुकाम सिमकोटबाट आइतबार सिंधैं भवन निर्माण गरेको क्षेत्रमै पुगेको सुरक्षा अधिकारीको टोलीलाई चीनीय पक्षले आफ्नो भूमिबाट हट्न भनेर ठाडो आदेश दिएपछि नतमस्तक बनेको सुरक्षा अधिकारीको टोलीले उनीहरुसँग एक शब्दपनि बोल्ने आँट गरेन् । टोलीमा प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी, नेपाली सेना र सशस्त्रका प्रमुखहरु सहभागि थिए ।

के भयो लोलुङजोङमा ?
साविकको लिमि गाविसको क्षेत्रमा पर्ने लोलुङजोङमा यस अघि नैं चीनियाँ पक्षले दुईवटा भवन निर्माण गरेको थियो । पछिल्लो समय उक्त क्षेत्रमा चीनले थप ९ वटा भवन निर्माण गरेका खबर प्रकाशमा आएपछि प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीको नेतृत्वमा ३५ सदस्यीय प्रतिनिधि मण्डल आइतबार लोलुङजोङ पुगेको थियो । चीनियाँ पक्षले दिएको पिपिइ सेट लगाएर सात सदस्यीय नेपाली टोली चीनसँगको वार्ताका लागि तयारी अवस्थामा बसेको साढे एक घण्टा पश्चात चीनियाँ अधिकारीको टोली तीन गाडीमा त्यहाँ पुग्यो । तत्कालै स्वास्थ्य सुरक्षा सावधानीका लागि पिपिइ सेट लगाएर आएको चीनियाँ पक्षले माइकिङ गरेर नेपाली टोलीलाई त्यहाँबाट पछाडी हट्न आग्रह गर्यो । नेपाली टोली पुगेको लोलुङजोङ आफ्नो भूभागमा पर्ने दावी गरेको चीनियाँ पक्षले थप केही कुरा गर्ने भए दुई देशबीचको सिमानामा बसेपछि मात्रै गर्ने बताएपछि नेपाली सुरक्षा अधिकारीको टोली झण्डै एक किलोमिटर पछाडी फक्र्यो । नेपाली टोली चीनिया पक्षले माइकमै संकेत गरेको क्षेत्रमा पुग्यो । दुवै देशका प्रतिनिधि मण्डल आफ्नै भूमीमा रहेर चीनले भवन निर्माण गरेको लोलुङजोङको भूमीका बारे दुई पक्षबीच कुरा हुने अनुमान नेपाली प्रतिनिधि मण्डलले गरेको थियो । हावा हुरी निकै चलेकाले नेपाली प्रतिनिधि मण्डलले बोलेको कुरा चीनियाँ पक्षले सुन्ने अवस्था थिएन् । माइक सहित उपस्थित चीनियाँ प्रतिनिधि मण्डलले नक्सा देखाएर एकोहोरो लोलुङजोङको भूभाग आफ्नो भएको दावी गरि रह्यो । त्यसको प्रतिकार गर्ने नेपाली प्रतिनिधि मण्डलसँग न केही तत्थ्यगत आधार थियो न त आफूले बोलेको आवाज सुनाउने माध्यम (माइक) नै थियो । चर्को स्वरले बोलेपछि चीनियाँ प्रतिनिधि मण्डललाई आफ्ना कुरा सुनाउन मौशम र भाषाका कारण नेपाली टोली असफल भयो । चीनियाँ पक्षले निर्धारण गरेको सिमा क्षेत्रमै बसेको झण्डै ३ मिनेटमै महत्वाकांक्ष बोकेको वार्ता टुंगियो । नेपाली सुरक्षा अधिकारीको टोली त्यहाँबाट फर्कियो ।

पशु पालन घटेसँग चीनिया हस्तक्षप बढ्यो
पछिल्लो समय हुम्लाको नाम्खा गाउँपालिका ६ लिमिमा घट्दो पशुपालन कारण पनि चीनिया पक्षले नेपाली भूभागमा हस्तक्षप गरेको स्थानीयले बताउने गरेको छन् । ”२०६० को दशकमा लिमि क्षेत्रमा धेरैको संख्यामा पशु पालन गर्ने भएकाले लोलुङजोङ क्षेत्र भन्दा थप २।३ किलोमिटर परसम्म हामीले खर्क बनाएर पशुवस्तु राख्ने गरेका थियौं,” नाम्खा ६ का वडा अध्यक्ष पाल्जोर तामाङले भने, “हामीले पशुवस्तु पाल्न छोडेसँगै आफैले कमाउँदै आएको भूमि पनि छोड्नु पर्ने अवस्था आयो ।” तत्कालिन समयमा नेपाल र चीनको बोर्डर खुला भएकाले पनि चीनले त्यतिविधि हस्तक्षप नगरेको अनुभव स्थानीय उइटुप तामाङको छ । धार्मिक रुपमा पनि आवश्यक्ता परेको समयमा हामी (नेपाली विना अवरोध मानसरोवर दर्शन गर्न जाने खुला मार्गका रुपमा लिमिको लाप्चा क्षेत्र प्रयोग गर्दै आएको बताएका तामाङले चीनियाँ छोपा (पशुवस्तु पाल्ने) पनि हाम्रो (नेपाली) क्षेत्रमा पशुवस्तु ल्याउँन्थे । हामीहरुका पशुवस्तु सहित चरण खर्क उनीहरुको क्षेत्रमा पनि जान्थ्यो । त्यो क्षेत्र उनीहरु र हामी संयुक्त रुपमा मिलेर उपभोग गरेपनि अहिलेको जस्तो विवाद थिएन । पछिल्ला पाँच वर्षयता लिमिमा पशुवस्तुको संख्या घट्दै गएपछि आफ्नो गाउँ भन्दा टाढाको क्षेत्रलाई चरण क्षेत्रका रुपमा प्रयोग गर्न छोड्दा पनि चीनले आफ्नो भू–भाग भन्दै नेपाली क्षेत्रमा आउन थालेको अनुभव लिमीवासीले गरेका छन् ।

दशकमै फेरियो चीनको बोली
चीनको सिमानाबाट सडक खन्ने सयम भन्दा अहिले चीनिया पक्ष सिमानामा थप कडा रुपमा प्रस्तुत भएको छ । २०६६ सालमा निर्माण शुरु भएको लिमि–लाप्चा रोड खन्ने क्रममा हाल चीनले भवन निर्माण गरेको लोलुङजोङ भन्दा झण्डै तीन किलोमिटर पर (चीनिया क्षेत्रमा) पर्ने गबुयांल्सादेखि नैं नेपालीलाई तिमिहरुको क्षेत्र हो भन्दै बाटो खन्न आफैले भनेको चीनले एक दशकमै आफ्नौ बोली फेरेको छ । उक्त क्षेत्रबाट नेपालीले शुरु गरेको लिमि–लाप्चा सडक निर्माणको शुरुवात गर्ने बेला २०६६ साल असारको महिना तत्कालिन बुराङ काउण्ट्रीका सुजि (प्रमुख) तेञ्जिनले समेत नेपाली पक्षलाई तिमिहरुको सिमानादेखि बाटो खन्न आग्रह गर्दै गबुयांल्सा (हाल चीनले भवन निर्माण गरेको क्षेत्र लोलुङजोङदेखि २ किलोमिटर उता) बाट बाटो खन्न सहमती दिएको तत्कालिन सडक निर्माण उपभोक्ता समितिका सदस्य समेत रहेका नाम्खा गाउँपालिका अध्यक्ष तामाङ बताउँछन् । “त्यतिबेला विना रोकावट सहजै रुपमा चीनले तिमिहरुको सिमानाबाट तिमिहरुले नैं बाटो खन भन्दैसहमती प्रदान गरे अनुसार गबुयांल्सादेखि हामीले सडक खन्ने काम गरेका थियौं,” अध्यक्ष तामाङले भने, “तर एक दशक नबित्दै चीनको बोली फेरिएको देख्दा म आफै अचम्ममा परेको छु ।” परम्परागत रुपमै हाल विवादित भएको क्षेत्र भन्दा निकै परदेखि नेपाली पक्षले उपभोग गर्दै आएको सम्झीएका लिमीका ६२ वर्षिय उइटुप तामाङले पछिल्लो समय चीनिया पक्षको आफूहरु माथि गर्ने बोली र व्यवहार समेत फेरिएको बताए । दुवै देशका पशुवस्तुहरु सहज रुपमा आवतजावत गर्न थालेपछि चार वर्षयता चीनले दुइटा भवन निर्माण गरेको सम्झीएका तामाङले भवन किन बनाएको भन्ने जिज्ञासा राख्दा पशु क्वारेन्टिनका रुपमा प्रयोग गर्न निर्माण गरेको जवाफ पाएका थिए । तर पछिल्लो समय थप ९ वटा सुविधा सम्पन्न भवन निर्माण गरेपछि चीनको उक्त बोलीमा समेत परिवर्तन आएको भनाई उनको छ । गएको वैशाखमा लोलुङजोङमा निर्माण भएका भवनमा खटिएका चीनिया सुरक्षाकर्मीसँग सोध्दा चीनले आफ्नो बोर्डर त्यतै राख्ने संकेत गर्दै व्यापारिक प्रयोजनका लागि भवन निर्माण भएको सुन्दा उनी थप चकित परे ।

टाक्चीमा विओपी आवश्यक
सिमानाको अनुगमन गर्न गएको सुरक्षा अधिकारीको टोलीले लिमिको टाक्चीमा सशस्त्र प्रहरी बलको बोर्डर अप पोष्ट (बिओपी) आवश्यक रहेको निचोड निकालेको छ । चीनले भवन लगाएको भूमि कुन देशको क्षेत्रमा पर्ने बारेमा अन्योल बनेको टोलीले नेपाल सरकारसँग ११ नम्बर पिल्लरको खोजि गर्न आग्रह गरेर सिमाना एकिन गर्नतर्फ जोड दिने निर्णयमा पुगेको टोलीमा संलग्न एक अधिकारीले जानकारी दिए । शुरुमा हाम्रो सिमाना कहाँ हो भन्ने एकिन नैं भएन, ती अधिकारीले भने, त्यसको अलावा हाम्रो भूमीको रक्षा गर्न टाक्चीमा तत्कालै एक बोर्डर अफ पोष्ट अनिवार्य देखियो । लेखक हुम्लाका वरिष्ठ पत्रकार नवराज महतरा हुन

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *