कृष्णदासको थुनछेक बहस सुरु , अदालत बाहिर पक्ष विपक्षको नाराबाजी र प्रदर्शन

इनरुवा – आफ्नै अनुयायीलाई बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीको सुनसरी जिल्ला अदालत इनरुवामा थुनछेक बहस सुरु भएको छ ।
सरकारी वकिलका तर्फबाट जिल्ला न्याधिवत्ता गोकुल निरौला, नवराज विष्ट, रेवति सुवेती, अनिल रेग्मी, अनन्त न्यौपाने र रेनुका राई ६ जना र गिरीको तर्फबाट अधिवक्ता मोहन कोईराला, सरोज गिरी सहित ५ जनाले थुनछेक बहस जिल्ला अदालतमा सुरु गरेका छन् ।
सुनसरी जिल्ला अदालतमा शुक्रबार बयान सकिएकोले आज थुनछेक बहस सुरु भएको सुनसरी जिल्ला अदालतका श्रेस्तेदार नरेन्द्रकेसरी पोखरेलले बताएका छन् ।
सिद्धबाबा भनिने कृष्णदास गिरीको सुनसरी जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको बेला आज पुनः बाबाको समर्थक र महिला अधिकारकर्मीहरुले पक्ष र विपक्षमा नाराबाजी गरिरहेका छन् । पक्ष विपक्षमा नाराबाजी प्रदर्शन गरेपछि सुनसरी प्रहरीले सुरक्षा ब्यवस्था कडा पारिएको छ ।
बाबाका समर्थहरुले जय श्रीराम,जयजय श्रीराम, जय हनुमान सहित भत्ति भजन गाउँदै शान्तिपुर्वक नाराबाजी गरिरहेका छन् भने महिला अधिकारकर्मीहरुले विपक्षमा बलात्कारीलाई फाँसी दे, बलात्कार गर्नेलाई कार्वाही गर, बलात्कारलाई छाड्नुहुदैन, महिला हिसाँ अन्त्य गर , पीडितलाई न्याय दे, लगायतको नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका छन् ।
आइतवार थुनछेक बहस नसकिए सोमबारसम्ममा र्पुपक्षका लागि करागार चलान गर्ने, सदा तारेख वा धरौटीमा छाड्ने कुरा थाहा हुने जिल्ला अदालत सुनसरीले जनाएको छ ।