कृषि विकास बैंक ह्याक गर्ने भारतीय व्यापारी पक्राउ

कृषि विकास बैंकको सिस्टम ह्याकिङ प्रकरणका फरार एकजना भारतीय व्यापारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक डीएसपी अमर बहादुर थापाका अनुसार भारतीय व्यापारी सुशील गर्ग पक्राउ परेका हुन् ।
भारत उत्तराखण्ड चम्पावत जिल्ला बनवासाका ५५ वर्षीय व्यापारी सुशील गर्गलाई नेपाल–भारत सीमा क्षेत्र कञ्चनपुरको भिमदत्त नगरपालिका–१० स्थित गड्डाचौकीबाट प्रक्राउ गरिएको प्रवक्ता थापाले जानकारी दिए ।
डीएसपी थापाका अनुसार सुशील बनवासा मिना बजारमा चप्पलको व्यापार गर्छन् । कृषि बैंकका देवी प्रसाद पोखरेलको जाहेरीले सुशील गर्ग पक्राउ परेका हुन् ।गर्गले अनाधिकृत रुपमा विद्युतीय माध्यमको दुरुपयोग गरी कृषि विकास बैंकको वित्तीय प्रणालीमा अनाधिकृत पहुँच राखी विभिन्न व्यक्तिको खातामा रकम रकमान्तर गरी भुक्तानी लिएको आरोप थियो ।
जिल्ला अदालत काठमाडौँले बैंकिङ कसुर र संगठित अपराध मुद्दामा २०७६ असार ७ गते उनलाई पक्राउ गर्नका लागि पुर्जी जारी गरेको थियो । सो घटनामा उनकै भतिजा अन्नु भनिने अनुज गर्ग भने अझै फरार रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका गर्गलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
२०७६ असोजमा कृषि विकास बैंक लहान शाखाको सिस्टम ह्याक गरी एउटा गिरोहले पाँच करोड रुपैयाँ काठमाडौंस्थित केन्द्रीय बैंकमा ट्रान्सफर गरी लुटेको थियो ।