किर्ते कागजातबाट ९ लाख ७० हजारको चेक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

महोत्तरीको गौशाला नगरपालिकामा किर्ते कागजातमार्फत ९ लाख ७० हजार रुपैयाँ भुक्तानीको विवाद बाहिरिएको छ । नगर कर्मचारीले किर्ते उपभोक्ता समितिका नाममा टिप्पणी आदेशसहितका कागजात बनाएर चेक लिएको खुलेको हो । किर्ते नापी किताब, उपभोक्ता समितिको निर्णय, उपभोक्ता समितिको निवेदन, सार्वजनिक परीक्षण, प्रमाणित बिल, हाजिरीलगायत किर्ते कागजात बुझाई चेक भुक्तानी गरिएको थियो ।

योजना शाखा प्रमुख तिलकबहादुर जिम्बा, प्राविधिक शाखाका इन्जिनियर प्रवीण सिंह र नगरपालिकाका प्रशासकीय अधिकृत वीरेन्द्रजंग थापाको हस्ताक्षर रहेको भुक्तानी टिप्पणी आदेशमा कामै नभएको नाला निर्माण उपभोक्ता समिति गौशाला–६ को नाममा चेक काटिएको थियो । पानी निकासका लागि ह्युमपाइप खरिद र निर्माण योजनाका लागि भन्दै तयार पारिएको फर्जी कागजातका आधारमा उपभोक्ता समितिलाई लेखा शाखाबाट सोमबार चेक दिइएको हो ।

योजना शाखामा कार्यरत कर्मचारीले किर्ते कागजात तयार गरी प्रशासकीय अधिकृत थापालाई प्रलोभनमा पारेर १० लाखको योजनामा ३ प्रतिशत रकम कट्टा गरी ९ लाख ७० हजार रुपैयाँ भुक्तानीका लागि टिप्पणी आदेश दिइएको थियो । नगरपालिकाबाट चेक लिए पनि भुक्तानी हुने सम्बन्धित योजनाको बैंकमा खाता खोलिएको थिएन ।

खाता खोल्न नगरपालिकाबाट सिफारिससहितको कागजात बन्ने क्रममै किर्ते योजनाको रहस्य सार्वजनिक भएको हो । किर्ते कागजातका साथै कार्यालयमै चेक फेला परेको विषयमा अनुसन्धान सुरु भईरहेको गौशाला नगरपालिका ले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *