किन भने प्रचण्डले कि ‘सीमा विवादलाई अन्तर्राष्ट्रियकरण गर्ने बेला भइसकेको छैन’ भनेर ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ – सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले पछिल्लो पटक सार्वजनिक गरेको राजनीतिक नक्साले वर्षौँदेखि रहँदै आएको सीमा विवाद सुल्झाउनका लागि नकारात्मक रुपमा सहयोग गरेको बताएका छन्।संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रचण्डले सीमा समस्या समाधान गर्नका लागि अनुकुल समय रहेको बताए । भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेपछिको अवस्थाबारे छलफल गर्न राज्य व्यवस्था समितिले बोलाएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित भएनन् ।

बैठकमा उपस्थित भएका समितिका सदस्य समेत रहेका प्रचण्डले नेपाल र भारत दुवै तर्फ दुई तिहाई बहुमतको बलियो सरकार रहेकाले समस्या समाधान गर्ने उपयुक्त बेला रहेको बताए । उनले भने, ‘स्थिर सरकार नहुँदा गम्भीरता पूर्वक उठाउन सकिएको थिएन । अहिले परिस्थिति फेरिएको छ । भारतले सार्वजनिक गरेको नक्सानले समास्या समाधान गर्न नकारात्मक रुपमा सहयोग गरेको छ ।’

यस्तै हाल सीमाको विषयमा नेपालमा बलियो एकता कायम भएको प्रचण्डले बताए । उनले भने, ‘अहिले हामी सबै नेपाली भएका छौँ कोही कसैको प्रो भएको छैन । सबै नेपालीको प्रो भएका छन् । यो देशका लागि ठूलो तागत हो ।’

बैठकमा प्रचण्डले सीमा विवाद अहिले नै अन्तर्राष्ट्रियकरण गर्ने बेला नभएको पनि बताए । समितिकी सभापति शशी श्रेष्ठले सीमा विवादलाई अन्तर्राष्ट्रियस्तरमा लगेर भए पनि समाधान गर्नु पर्ने कुरा उठेको बताएकी थिइन् । त्यसको जवाफमा प्रचण्डले भने, ‘अहिले नै अन्तर्राष्ट्रियकरण गर्ने बेला भएको छैन । आपसी छलफलबाटै समस्या समाधान गर्नु पर्छ । अन्तर्राष्ट्रियस्तरमा लैजाँदा समाधान हुनुको साटो झन समस्या थपिन्छ।’

नेपालको कुनै पनि भूभाग कुनै सरकार वा राजा–महाराजाले कसैलाई नदिएको दाबी गरेको प्रचण्डले सीमा समस्याको समाधान कूटनीतिक रुपमा खोजिनु पर्ने बताए । उनले भने, ‘उत्तेजना फैलाएर समाधान हुँदैन । छलफलबाटै समाधान खोज्ने हो र यसमा सरकारको स्पष्ट धारणा पनि आएको छ ।’

सुगौली सन्धिले नै स्पष्ट रुपमा भनेकाले लिम्पियाधुरा–लिपुलेक–कालापानी नेपालको हो या होइन भन्ने विवादको विषय नै नरहेको र ती क्षेत्र नेपालकै रहेको प्रचण्डले बताए । उनले भने, ‘तथ्यले नै भनेको छ कि ती क्षेत्र नेपालकै हो । लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै हो भन्नेमा दुविधा छैन । सरकारको धारणा पनि स्पष्ट आइसकेको छ ।’

प्रधानमन्त्रीहरुको भारत भ्रमणका बेला सीमाको कुरा उठ्दै आएको उनले बताए । उनले भने, ‘भारतसँगको अधिकांश ठाउँको सीमा समस्या समाधान भए पनि कालापानी र सुस्ताको विषय चाहिँ समाधान हुन सकेको छैन ।’

उनले भने, ‘म दुईपटक प्रधानमन्त्रीका रुपमा भारत जाँदा पनि यो विषय उठाएको हो । तर दुई ठाउँको विवादका कारण सबै समस्या समाधान भयो भन्न सकिएन । छलफल जारी राखिएको थियो।’

बैठकमा भूमि सुधार मन्त्री पद्मा अर्यालको पनि सहभागिता थियो । उनले समस्या समाधानका लागि सबै पक्षसँग छलफल गरिरहेको बताइन् । यस्तै बैठकमा उपस्थित भएका गृहमन्त्री रामबहादुर थापा बादलले सीमा रक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताए।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *