किन आउँदैछन् भारतीय रक्षामन्त्री नेपाल ? भारतले कस्तो बनाउँदैछ ‘नेपाल नीति’ ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौं – भारतीय रक्षामन्त्री राजनाथ सिंहले निकट भविष्यमा नै नेपाल भ्रमण गर्ने निश्चित भएको छ । कोरोना भाइरसको कारणले गर्दा मात्र उनको नेपाल भ्रमणको मिति भने तय भएको छैन । रक्षामन्त्रीको जिम्मेवारी सम्हालेपछि राजनाथ सिंहको यो पहिलो विदेश भ्रमण हुनेछ । भारतीय रक्षामन्त्री सिंहले नेपाल भ्रमण दुई देशबीचको सैन्य सम्बन्ध सुदृढ गर्नका लागि भने यो नेपाल भ्रमण हुन लागेको होइन । विगतमा सन् २०१४ देखि २०१८ सम्म भारतको गृहमन्त्रीको जिम्मेवारी सम्हालेका र त्यसभन्दा अगाडि भारतीय जनता पार्टीको अध्यक्षको जिम्मेवारी सम्हालेका राजनाथ सिंहको हुन लागेको यो नेपाल भ्रमण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अघोषित विशेषदूतको रुपमा हुन् लागेको साघुले लेखेको छ । दोस्रोपटक प्रचण्ड बहुमतसहित भारतीय जनता पार्टी सत्तामा आएसँगै नरेन्द्र मोदी सरकारले महत्वपूर्ण निर्णय गर्न थालेको छ ।

दोस्रो पटक प्रचण्ड बहुमतसहित नेतृत्व सम्हालेलगत्तै मोदी सरकारले संविधानको धारा ३७० खारेज गरेर जम्मु कश्मिरलाई दिँदै आएको विशेष हैसियत समाप्त पार्ने निर्णय गरेको थियो भने नागरिकताका सम्बन्धमा नयाँ संशोधन ल्याएर भारतको राजनीतिमा ठूलै हलचल उत्पन्न गर्ने कामसमेत मोदी सरकारले गरेको छ । यो निर्णय खासगरेर उसको परम्परागत शत्रु राष्ट्र पाकिस्तानलाई ध्यानमा राखेर भएको विश्लेषकहरूको बुझाई रहेको छ । तर, अहिलेसम्म मोदी नेतृत्वको भाजपा सरकारले आफ्नो सबैभन्दा निकटको मित्रराष्ट्र नेपालका सम्बन्धमा भने निश्चित नीति बनाइसकेको छैन ।

नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले २०७६ फागुन ४ गतेबाट १९ गतेसम्म भारतको भ्रमण गरेको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटवार्ता गरेपछि भारतीय रक्षामन्त्री राजनाथ सिंहको नेपाल भ्रमण हुन लागेको हो । उत्तर प्रदेशमा ५ वर्षसम्म मुख्यमन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेका राजनाथ सिंहको यो प्रस्तावित नेपाल भ्रमण रक्षा क्षेत्रमा मात्र सीमित हुने देखिंदैन । नेपाल भारतबीचको सम्बन्धलाई समयअनुसार परिस्कृत गर्नेलगायत छुटेको राजनीतिको व्यवस्थापन गर्नका लागिसमेत भारतीय रक्षामन्त्री सिंहको नेपाल भ्रमण हुन लागेको हो भनिन्छ ।

२०७६ फागुन ४ गते ‘छिनोफानो मिशन’मा नयाँ दिल्ली पुगेका र फागुन १९ गते स्वदेश फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत गृहमन्त्री शाह, रक्षामन्त्री सिंहसँगै उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ र भारतीय प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार डोभलसँग भेटवार्ता गरेर पहिलोपटक नेपालको राजनीतिका सम्बन्धमा चर्चा गर्दै आफूमाथि अन्याय भएको शिकायत गरेपछि भारतको मोदी सरकारले नेपालका सम्बन्धमा नयाँ नीति अख्तियार गर्नका लागि पनि रक्षामन्त्री राजनाथ सिंहलाई नेपाल पठाउन लागेको हो भनिन्छ । यही कारणले गर्दा नै भारतीय रक्षामन्त्री सिंहको प्रस्तावित नेपाल भ्रमण नेपाली सेनाले दिने सलामीमा मात्र सीमित हुने छैन भन्ने टिप्पणी कूटनीतिक क्षेत्रले गर्न थालेका छन् ।

स्मरणरहोस् गोरखपुर मन्दिरको प्रमुख पुजारीको हैसियतमा रहँदा पनि तत्कालीन सांसद योगी आदित्यनाथले दुईपटक काठमाडौं भ्रमण गरेर नेपालको वर्तमान राजनीतिक पद्धतिप्रति असन्तुष्टी व्यक्त गरेका छन् । यसैगरी अघिल्लो साता मात्र काठमाडौंस्थित भारतीय राजदूतको जिम्मेवारी सम्हालेका विनयमोहन क्वात्रालाई पहिलो पटक भारत सरकारले कूटनीतिकसँगै राजनीतिक अधिकारसमेत दिइएको चर्चाले पनि काठमाडौंमा महत्व पाएको छ । राजनीतिक अधिकारसमेत प्राप्त भनिएका राजदूत क्वात्राले नेपालको राजनीति र राजनीतिक दललाई नयाँ ढंगले व्यवस्थापन गर्नका लागि आफूले प्राप्त गरेको राजनीतिक अधिकार उपयोग गर्न सक्ने कूटनीतिक क्षेत्रले उल्लेख गरेको छ ।

पछिल्ला केही दिन यता नेपालको राजनीतिमा भएको नाटकीय परिवर्तन र घटनाक्रमसँग पनि भारत सरकारले अख्तियार गर्न थालेको नेपाल नीतिका सम्बन्धमा जोडेर हेर्न थालिएको छ । भारत सरकारबाट नै प्रेरित भएर मुलुकमा विभिन्न महत्वपूर्ण राजनीतिक घटना हुन थालेको टिप्पणी पनि राजनीतिक क्षेत्रले गर्न थालेको छ । यसरी विकास भएको राजनीतिक घटनाक्रमकै कारणले गर्दा मुलुकको राजनीतिक स्थिरतामाथि समेत विभिन्न प्रकारले धक्का पुग्न थालेको महसुस हुन थालेको छ ।

भारत सरकार निश्चितरुपमा नेपाल सरकारले अख्तियार गरेको नीतिप्रति सन्तुष्ट छैन र पछिल्ला घटनाक्रमसँगै महाशक्ति राष्ट्र अमेरिकासमेत नेपालसँग असन्तुष्ट बन्दै गएको छ र अहिले यही कारणले गर्दा क्षेत्रीय शक्ति भारत र महाशक्ति अमेरिका नेपालको मामिलामा एक ठाउँमा आइपुगेका छन् । यो स्थितिलाई सम्बोधन गर्नकै लागि भारत सरकारमा नरेन्द्र मोदी र अमित शाहपछि तेस्रो प्रभावशाली हैसियत राख्ने रक्षामन्त्री राजनाथ सिंहको नेपाल भ्रमण हुन् लागेको भनेर राजनीतिक र कूटनीतिक क्षेत्रमा टिप्पणी हुन थालेको छ । साघुबाट साभार

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *