ओली सरकार फासीवाद तर्फ उन्मुख छ : कांग्रेस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री नविन्द्रराज जोशीले सरकार फासीवाद तर्फ उन्मुख रहेको बताएका छन् । गणेशमान अध्ययन प्रतिष्ठानको आयोजनमा ‘बर्तमान सरकारको क्रियाकलाप बारे सांसदहरुको धारणा’ विषयक सांसदहरुसँगको भर्चुअल माध्यम मार्फत भएको अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।

जोशीले विभिन्न मुलुकमा फासीवादको सुरुवाती चरणमा वर्तमान सरकारको जस्तै रवैया रहेको उदाहरण दिदै प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारपनि फासिवादको पथतर्फ अगाडि बढिरहेको जिकिर गरे ।

संसदप्रती सरकार उत्तरदायी हुनुपर्ने बेला त्यसको विपरित भइरहेको उनले दावि गरे । उनले भने ‘प्रधानमन्त्री ओली एकात्मक शासन प्रणाली लागु गरेर तानाशाह पथमा अघि बढिरहेको छ । स्थानीय सरकारलाई कमाजोर बनाएर केन्द्रीकृत शासन प्रणाली लाद्न खोज्नु मुलुकको लागि दुर्भाग्य हो ।’

‘आज समृद्ध नेपालको नारा भजाएर जनतालाई मंहगीले ढाड सेकाएको छ । कोभिड १९ अर्थात कोरोना भाइरसका महामारीमा जनता परिरहेका बेला क्वारेन्टाइनको ढोकाको चुकुल फेर्नको साटो भ्रष्ट्राचारमा लिप्त छन् ।’ उनले भने ।

कोरोनाका कारण आम नागरिकको जीवन नै संकटमा रहेका बेला सरकारले जनजीवनको व्यवास्ता गर्नु उदेकलाग्दो र गैरजिम्मेवार भएको जोशीले टिप्पनी गरे । उनले भने, ‘सरकारको रवैयाका कारण देशमा चुनौतिपूर्ण दिनहरु आएको छ । लोकतन्त्र र संविधान संकटमा पर्दै गएको छ । जनताको बाच्न पाउने अधिकारी संविधानले ग्यारेन्टी गरेको छ । तर, सरकार फासीवाद तर्फ उन्मुख छ, त्यसलाई कांग्रेसले रोक्न सक्नुपर्छ ।’

कार्यक्रममा प्रतिनिधि सभाका सांसद राजन केसीले प्रजातन्त्रको खोल ओडेर जनमत प्राप्त सरकार भ्रष्ट्राचार गर्नमा भुलिरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले देश र जनता प्रति गरेको बेइमानीले मुलुकलाई दुर्घटना तर्फ गइरहेको उनले आरोप लगाए ।

केसीले मुख्य विपक्ष दल नेपाली कांग्रेसले पनि मुलुक संकट तर्फ धकेलीरहका बेला संवैधानीक आयोगहरुमा भागवण्डा खोज्नु गलत भएको बताए । नेतृत्वले त्यसतर्फ ध्यान नदिएर कम्युनिष्ट पार्टीसँग कुम जोड्न गएमा पार्टीमा ठुलो क्षेती पुग्ने केसीले जिकिर गरे ।

त्यस्तै अर्का सांसद अनिता देवकोटाले सरकारको उल्टो बाटोको गतिले मुलुकमा संकट निम्तिदै गएको जनाएइन् । उनले कम्युनिष्ट सरकारले विभुषीत गर्दा कुमान र गोविन्द केसीहरु नचिनेको तर, भ्रष्ट्राचारीहरुलाई तक्मा भिराएको पठाएको आरोप लगाइन् । उनले ओली नेतृत्वको सरकारबाट समृद्ध मुलुकको कल्पना गर्नु नै दुर्भाग्य हुने जिकिर गरिन् ।

त्यसैगरी प्रतिनिधि सभाका सांसद सञ्जय गौतमले जनताले तिरष्कृत गरिसकेका व्यक्तिहरुलाई राष्ट्रिय सभामा नियुक्ति गरेर सरकारले संविधानको मर्म माथि नै प्रहार गरेको बताए ।

कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधानलाई जोगाउन अव कांग्रेसले नै भूमिका खेल्नु पर्ने उनको भनाइ छ । त्यसलै मुलुकको हितका लागि नेपाली कांग्रेस एक ढिक्का भएर जाग्नुपर्ने गौतमले बताए । कार्यक्रमा नेपाली कांग्रेसका सांसदहरु, नेता कार्यकता, पर्यवेक्षक र सञ्चारकर्मीहरुको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *