ईश्वर पोखरेललाई थप शक्तिशाली बनाउँदैछन् प्रधानमन्त्रीले !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई थप चुस्त र प्रभावकारी बनाउने उद्देश्यका साथ उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलको जिम्मेवारी हेरफेर गरेका छन्।

प्रधानमन्त्री ओलीले बुधबार मन्त्रिपरिषद पुनर्गठन गर्ने क्रममा पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय हेर्ने गरी नयाँ जिम्मेवारी सुम्पेका थिए। पोखरेलले यसअघि सम्हाल्दै आएको रक्षा मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री ओलीले आफू माताहत राखेका छन्।

“प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहातमा धेरै योजनाहरु छन्। समृद्ध नेपाल र सुखी नेपालीको अभियान पूरा गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत महत्वपूर्ण योजनाहरु राखिएका हुन्। सुशासन कायम गर्न र विकासको अभियानलाई द्रुत गति प्रदान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय चुस्त हुनु जरुरी हुन्छ,” प्रधानमन्त्री ओलीनिकट एक नेताले दावी गरेकाछन्, “कोरोना महामारी नियन्त्रणमा पनि सरकार गम्भीर भएर लाग्नुपर्ने अवस्थामा प्रधानमन्त्री एक्लैले यी सबै महत्वपूर्ण कामहरुमा प्रभावकारी रुपमा ध्यान दिन नभ्याउन सक्ने कारण विश्वासिला नेता पोखरेललाई जिम्मेवारी दिनु भएको हो।”

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयअन्तर्गत विकास–निर्माणका योजना अनुगमनको जिम्मेवारी छन्। सबै राष्ट्रिय गौरवका आयोजनाहरु समेत अनुगमन गर्नुपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत सम्पत्ति शुद्धीकरण, अनुसन्धान विभाग, राजश्व अनुसन्धान, सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रिय गौरवका योजनाका अनुगमनजस्ता महत्वपूर्ण विभाग छन्। तर त्यसका बावजुद तिनका काम प्रभावकारी हुन नसकेको प्रधानमन्त्रीले महसुस गर्दै आएका थिए। त्यही कारण प्रधानमन्त्री ओलीले पोखरेलको जिम्मेवारी हेरफेर गरेको बालुवाटार स्रोतको दावी छ।

विभिन्न मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरुको काम सन्तोषजनक गतिमा अघि नबढेकाले त्यसको अनुगमन गर्न भन्दै प्रधानमन्त्री कार्यालयमा ‘वाररुम’ बनाइएको छ। उक्त ‘वाररुम’बाट हरेक आयोजनामा के भइरहेको छ भनेर प्रत्यक्ष रुपमा निगरानी गर्न सकिन्छ। सम्भवत अब त्यसको निगरानी पोखरेलले नै गर्नेछन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत ल्याएपछि राजस्व अनुसन्धान विभागले प्रभावकारी ढंगले काम गरिरहेको प्रधानमन्त्रीको बुझाइ छ। तर विभिन्न विकास निर्माणका काममा अप्ठेरो आउँदा सार्वजनिक खरिद कार्यालयले प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट थिए। त्यही कारण धेरै आयोजनाहरुको निर्माण गतिमा सुस्तता आएको उनको बुझाइ थियो। प्रधानमन्त्री निकट एक नेताका अनुसार पोखरेलले प्रधानमन्त्रीकै स्पिरिटअनुसार विकास निर्माणका कामलाई द्रुत गति प्रदान गर्न नेतृत्वदायी भूमिका खेल्नेछन्।

नयाँ जिम्मेवारी पाएका पोखरेलले विकास निर्माणका आयोजना अवलोकन, सम्पत्ति शुद्धीकरणलगायतका काम कारवाही हेर्ने छन्। प्रधानमन्त्री ओलीले ती कामको परिणाम चाँडै निकाल्ने गरी गति प्रदान गर्न पोखरेललाई निर्देशन दिएको बताइएको छ।

“प्रधानमन्त्री कार्यालयलाई अझ प्रभावकारी बनाउनका लागि सल्लाहमा उपप्रधानमन्त्री पोखरेलजीलाई नयाँ जिम्मेवारी सुम्पिनु भएको हो,” पोखरेल निकट एक नेताले भने, “उहाँले प्रधानमन्त्री कार्यालय सम्हालेपछि चाँडै परिणाम निस्कने विश्वास प्रधानमन्त्रीले गर्नुभएको छ। यसअघि एक सचिवबाट काम गर्नुभएका पोखरेललाई उद्देश्यप्राप्तिमा सघाउनका लागि अब कम्तीमा पाँच सचिवको साथ हुनेछ।”

उनका अनुसार विहिबार बिहान ११ बजे सपथ ग्रहण गरेपछि पोखरेलले नयाँ जिम्मेवारी सम्हाल्नेछन्।

यसअघि पनि प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा वरिष्ठ नेता राख्ने योजना बनाए पनि सम्भवः हुन सकिरहेको थिएन। मन्त्रीमण्डल गठन गर्ने सुरुको चरणमा बहालवाला एक मन्त्रीलाई यो जिम्मेवारी दिने प्रयास भएको थियो। तर अढाई वर्षपछि प्रधानमन्त्री ओलीले पार्टी सचिवालय सदस्यसमेत रहेका पोखरेललाई जिम्मेवारी दिएर आफ्नो योजना १२औं मन्त्रिमण्डल पुनर्गठनमा पूरा गरेका छन्।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *