आफू मर्न परे मर्न तयार तर भ्रष्टाचार हुन दिन्न : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मर्न तयार भएपनि भ्रष्टाचार भने नहुने प्रतिवद्धता जनाउनुभएको छ ।
बिहीबार काठमाडौंमा नेकपा बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष समेत रहनुभएका ओलीले भ्रष्ट र भ्रष्टाचारका सामू आफु नझुक्ने बताउनुभयो । पार्टीलाई बद्नाम गर्ने र नेतृत्वको चरित्र हत्या गर्ने काम भइरहेको ओलीले बताउनुभयो । सरकारले भ्रष्टाचारको बाटो समाउँछ भन्ने चिन्ता नगर्न प्रधानमन्त्री ओलीले नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । भ्रष्टाचारका कुनै पनि मुद्दामा आफ्नो विरुद्ध आरोप र मुद्दा नभएको तर पत्रिकाले अनावश्यक रूपमा छापेको ओलीको भनाइ थियो ।
त्यस्तै उहाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनका लागि बाँस्कोटाले बार्गेनिङ गरेको अडियो सार्वजनिक भएकोमा उक्त ’अडियोमा बाँस्कोटाकै आवाज हो भन्ने प्रमाणित नभएको’ पनि बताउनुभयो । नाम जोडिएकाले बाँस्कोटाले नैतिकताको आधारमा राजीनामा गरेको भन्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार गरेको प्रमाणित भएको जस्तो गरी प्रचार भएको बताउनुभयो । प्रधामन्त्री ओलीले अडियो प्रकरणमा बाँस्कोटाको दोष देखिए कारबाही पनि हुने र सजाय पनि भोग्नुपर्ने बताउनुभयो । त्यस्तै उहाले आफ्नो जन्मोत्सवलाई विवादमा ल्याउन खोजिएको आरोप पनि लगाउनुभयो ।
प्रधानमन्त्री ओलीले आफूहरुलाई भाँड्न खोज्ने र बदनाम गर्ने प्रयास भइरहेको भन्दै मजबुत संगठनलाई मतभेद रहित र विवादमुक्त गराएर लैजाने बताउनुभयो । नाकाबन्दी हुँदा, ग्यासको अभावका बेला नाकाबन्दी शब्द पनि ननिकालेको कांग्रेसले केकमा राष्ट्रवादी बनेको भन्दै उहाले तमासा देखाएको आरोप लगाउनुभयो । यस्तै प्रधानमन्त्री ओलीले अबको केही दिनभित्रै किड्नी ट्रान्सप्लान्ट गर्ने जानकारी दिनुभयो ।
प्रधामन्त्री ओलीले नेपालका कम्युनिस्ट पार्टी २०५४ मा विभाजन नभएको भए त्यति नै बेला दुईतिहाइ बहुमत आउने भन्दै कम्युनिस्ट पार्टी बलियो भएकाले माघ १९ को ’शाही कू’ विरुद्धको आन्दोलन सफल भएको दाबी गर्नुभयो । कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्र भैरहेका पछिल्लो विवादलाई सामान्य रुपमा लिनुपर्ने बताउनुयो । उहाले पार्टीलाई कुनैपनि हालतमा फुट्न नदिने विश्वास दिलाउनुभयो । दाहालले धेरै ठूलो दुख र मुल्य चुकाएर कम्युनिस्ट पार्टीलाई देशमा अहिले यो अवस्थामा ल्याएको स्मरण गर्नुभयो । दाहालले पार्टी कमजोर हुने, विभाजन गर्ने प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्ने एक ढिक्का भएर अगाडि बढ्ने आग्रह पनि गर्नुभयो ।
अध्यक्ष दाहालले एमसीसी अमेरिकी ‘सुपर पावर’ लाई संसारमा कायमै राख्ने सैन्य रणनीतिका रूपमा आएकाले यसलाई जस्ताको जस्तै अनुमोदन नगरिएको स्पष्ट पार्नुभयो । कार्यक्रममा नेकपा नेता माधव कुमार नेपालले नीति र विधान पालनाबाट मात्रै पार्टी बलियो हुने भन्दै पार्टीमा एकता, संघर्ष र विवाद सधै जारी रहने तर त्यो संघर्ष र विवाद पार्टीमा सीमित रहनुपर्ने बताउनुभयो । त्यस्तै नेता इश्वर पोखरेलले पार्टीभित्र देखिएको असमझदारी तत्काल हटाउनुपर्नेमा जोड दिनुभयो । प्रशिक्षण शुक्रबार सम्पन्न हुने नेकपाले जनाएको छ ।