आज हरितालिका तिज,यसपाली घरभित्रै मनाइँदै

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज यसपालि घर घरमै देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ।
कोरोनाको महामारीसँगै लागेको निषेधाज्ञाका कारण मठमन्दिर जान स्थानीय प्रसाशनले रोक लगाएपछि महिलाहरुले घरभित्रै बसेर तीज मनाइराखेका छन् ।
खुट्टा हालिनसक्नु भीड हुने पशुपति मन्दिर यसपाली करिब सुनसान जस्तै रहेको छ । देशका अधिकांश शिवालयहरु बन्द अवस्थामा छन् ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास रहिआएको छ । यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने तथा नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता छ ।
सत्ययुगमा हिमालयपुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्रीमहादेव पति पाउने कामना गरेकी थिइन् । पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि उनले साथीहरुलाई आफ्नो समस्या सुनाइन् ।
पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले उनलाई हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् ।
यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिकाको व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय उल्लेख भएको पाइन्छ ।
संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई शब्द मिलेर हरितालिका शब्द बनेको छ जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा तिजको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।