आज नाग पञ्चमी, नागको पूजा आराधना गरी मनाइँदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आज जागपञ्चमी धुमधामकासाथ मनाईदै छ ।नेपाली समाजमा सामाजिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेका विविध चाडपर्व, जात्रा तथा उत्सवहरू मनाइन्छन्। यसै गरी हिन्दु धर्म, परम्पराअनुसार प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमीको आफ्नै विशिष्ट महत्त्व रहेको छ । यस दिन घरको मूल ढोकामा नागको तस्बिरसहित नागका अष्ट कुल अर्थात् अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्खआदि नागको पूजा आराधना गरिन्छ । आजको दिनलाई रोपाइँका लागि पानी पार्न नागहरूले सहयोग गरेको र अब रोपाइँ सकिएकाले उनीहरूप्रति कृतज्ञता ज्ञापन गर्नका निम्ति नागहरूको पूजा अर्चना गरेको भन्ने लोककथन पनि रहिआएको छ ।

नाग पञ्चमीका दिन नागको तस्बिर टाँस्दा वर्षभरि घरमा नाग, सर्प, बिच्छीलगायतका जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक मान्यता रहिआएको छ । मानिसहरू यस दिन बिहान सबेरै उठी स्नान गरी दीप, कलश, गणेशसहित गोबरको नाग बनाई पूजाआजा गर्छन् । आजको दिनमा विभिन्न नागको वासस्थान भएका स्थानहरू पोखरी, पानी भएको कुवा तथा इनारमा गएर पूजा गर्ने चलन पनि रहेको छ । नाग पञ्चमीमा नागको पूजाको प्रचलन भने वैदिक कालदेखि नै सुरु भएको मानिन्छ । वैदिक मान्यताअनुसार नागलाई सर्पहरूका राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा चलिआएको मानिन्छ ।

वराह पुराणमा उल्लेख भएअनुसार साउन शुक्ल पञ्चमीका दिन नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिनमा नाग पूजा गर्ने गरिन्छ । त्यसै गरी नागलाई विष्णु र शिवको प्रतीकका रूपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै चल्दै आएको छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणाको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवानलाई नागका रूपमा मान्ने गरिएको हो ।

नाग पञ्चमीका दिन काठमाडौँको नाग पोखरी र टौ दह, पाटनको धापाखेल, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नाग दह, कुण्ड र नाग स्थानमा विशेष रूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खिर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ । जसका कारण घर परिवारमा सुख, शान्ति र समृद्धि हुन्छ भन्ने मान्यता रहिआएको छ ।

 

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *